१२ मंसिर २०७८, आईतवार

चितवनमा दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

प्रकाशित मिति :  ७ बैशाख २०७६, शनिबार ०९:०४


भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतोको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै शुक्रबार राति नै राप्ती नगरपालिका–१ पिप्लेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना१९प ९९३२ नंको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक मकवानपुर काँकडा–५ का २७ वर्षीय गोपिलाल स्याङताङको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा