८ माघ २०७८, शनिबार

यो वर्षको मनसुन प्रक्षेपण गर्न ८ वटा देशका मौसमविद् काठमाडौंमा भेला

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार ०६:०३


काठमाडौं । दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुन प्रक्षेपण गर्न ८ वटा देशका मौसमविद् सोमबारदेखि काठमाडौंमा भेला भएका छन् ।

नेपालले आयोजना गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम ‘सास्कोफ–१४’ को १४ औं सम्मेलनमा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी छन् ।सम्मेलनमा अफगानिस्तान भने सहभागी छैन ।

हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि सम्मेलन गरी दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सामान्यतया जेठ अन्त्य ९जुन १०० देखि मनसुन सुरु हुन्छ । सबै देशका मौसमविदले गहन छलफल गरी मनसुनबारे निष्कर्ष निकाल्ने गरेका छन् । केही वर्षयता उनीहरूको प्रक्षेपण मेल खाँदै आएको छ ।

सम्मेलनको संयोजन जल तथा मौसम विज्ञान विभागले गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेको सास्कोफ–१४ मा करिब ३० जना विशेषज्ञ सहभागी छन् ।

सम्मेलनमा विश्व मौसम संगठन ‘डब्लूएमओ’, बेलायतको मेटिरियोलोजी अफिसका विशेषज्ञ र मौसमबारे अध्ययन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि र विज्ञ सहभागी छन् ।

विभागका पूर्वमहानिर्देक मदनलाल श्रेष्ठले दक्षिण एसियामा मनसुनको अवस्थाबारे विस्तृत छलफल गरी वर्षाको आकलनसमेत गरिने बताए । मंगलबार सकिने सम्मेलनले यो वर्षको मनसुनी अवस्थाबारे नक्सासहित प्रतिवेदन सार्वजनिक गर्नेछ ।

सास्कोफ–१३ भारतको पुणेमा भएको थियो । नेपालले सास्कोफ–२ आयोजना गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा