१९ मंसिर २०७८, आईतवार

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य वैशाखदेखि नै सुरु हुने

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार ०८:३४


काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान यसै महिनाभित्रै सुरु हुने बताइएको छ ।

तल्लो र माथिल्लो दुवै सुरुङको पुछारमा राखिने बेन्ड पेनस्टक पाइप जडान सकिएपछि तल्लो सुरुङमा वैशाख २२ भित्र र माथिल्लोमा मसान्तभित्र उक्त पाइप राख्ने कार्य सुरु गर्ने अपर तामाकोसी जलविद्युत् कम्पनीले जनाएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ ।

तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौलका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपहरू जडान भइसकेका छन् । अब ती बेन्ड पाइपभन्दा माथि पाइप जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ‘लट ३’ को ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी सबै कार्यहरू निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएको नेपाल आयोजनाले जनाएको छ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ‘लट २’ ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालु आव २०७५/७६ को पुसभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो तर लट २ को ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ भित्र युनिट १ ‘७६ मेगावाट’बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपियाँ ‘निर्माण अवधिको ब्याजबाहेक’ पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोड रुपियाँसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपियाँ पुग्ने संशोधित अनुमान छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा