२२ मंसिर २०७८, बुधबार

ताम्राकारको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त [यस्ताे छ विज्ञप्ति]

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १४:३२


काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रमुख सचेतक खाँणले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता ताम्राकारको मङ्गलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।

विसं २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका स्व ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।

स्व नेता ताम्राकारले राजनीतिक जीवनबाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यमा समेत अतुलनीय योगदान पुर्‍याएका छन् । नेता ताम्राकारजस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १०, २०७६ मा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री श्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय

यस्ताे छ विज्ञप्ति:

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १०, २०७६ मा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री श्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय :

(१) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा नेपाल सरकारको वाणिज्य; स्वास्थ्य; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सम्हाल्नु भएका श्री रामकृष्ण ताम्राकारको आज २०७६ वैशाख १० गते दिउँसो ३ः४५ बजे ललितपुर स्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेता ताम्राकारको असामयिक तथा दुःखद निधनले हामी स्तब्ध भएका छौँ ।
श्रद्धेय नेता बी.पी. कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा  क्रियाशील रही पञ्चायती कालरात्रीमा समेत पटक–पटक जेलनेल र यातना सहनु भएका दिवंगत नेता ताम्राकार आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न सदा तत्पर रहनु भयो । नेता ताम्राकार श्रद्धेय नेताहरु बी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहनु भयो । नेपाली कांग्रेसको संगठन सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएका नेता ताम्राकार नेपाली कांग्रेसको एकीकरणमा विशिष्ट योगदान रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, रुपन्देही जिल्ला कार्यालय लगायत पार्टीको भौतिक संरचना निर्माणमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । राजनीतिक जीवन बाहेक पनि नेता ताम्राकारले शान्ति, वुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पु¥याउनु भयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था र समर्पणभाव राख्नु हुने दिवंगत नेता ताम्राकारको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगकेो छ ।
(२) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।
(३) नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भोलि मिति २०७६ वैशाख ११ गते विहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ । त्यसपछि भोलि नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार हुनेछ ।
(४) दिवंगत नेता श्री रामकृष्ण ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ
(क) २०७६ वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने ।
(ख) २०७६ वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहण १३ औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा