६ माघ २०७८, बिहीबार

निर्वाचन नसकिँदासम्म चलचित्र ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शन नहुने

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार ०६:३४


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचन नसकिँदासम्म प्रदर्शन नहुने भएको छ ।

सो चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै उजुरी परेपछि रोक लगाइएकोमा निर्वाचन अगाडी नै फुकुवा हुने सम्भावना नरहेको निर्वाचन आयोग श्रोतले जनाएको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सो चलचित्रले असर पार्ने भन्दै मोदीका विपक्षीहरू निर्वाचन आयोग र अदालतमा पुगेका थिए ।

‘निर्वाचन आयोगले निर्वाचन सकिनु अगाडि अर्थात् आउँदो मे १९ अगाडी सो चलचित्र प्रदर्शन गर्न दिननहुने पक्षमा रहेको छ,’ श्रोतले एएनआईसँग भन्यो ।

निर्वाचन आयोगले यो चलचित्र प्रदर्शन गर्ने दिने की नदिने भन्ने बारेमा तयार पारेको एक प्रतिवेदन सर्वोच्च अदालतलाई बुझाएको छ । प्रतिवेदनमा चलचित्र निर्वाचन अगाडी प्रदर्शन गर्न नहुने उल्लेख गरिएको आयोगका एक अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगले यही अप्रिल १७ तारिखका दिन सर्वोच्च अदालतको आदेशमा सो चलचित्र आन्तरिकरूपमा हेरेको थियो । सात सदस्यीय टोलीले चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचनलाई प्रभावित पार्ने गरी नै बनाइएको निष्कर्ष निकालेको छ ।

यसअघि निर्वाचनको पूर्वसन्ध्यामा यो चलचित्र प्रदर्शन गर्ने भनिएकोमा पटक पटक स्थगित हुँदै आएको थियो । तर पछिल्लो समय अप्रिल १२ मा प्रदर्शन गर्ने तयारी भएपनि निर्वाचन आयोगले प्रदर्शनमा रोक लगाएको थियो । निर्वाचन चलिरहँदा मोदीको जीवनीमा आधारित उक्त चलचित्र प्रदर्शन गर्न दिने कि नदिने भन्ने बारेमा जनमत विभाजित छ ।

विपक्षीहरूले कुनैपनि हालतमा निर्वाचन अगाडि चलचित्र प्रदर्शन गर्न दिन नहुने अडान राखेका छन् भने मोदीका समर्थकहरुले चलचित्र प्रदर्शन हुन दिनुपर्ने माग राख्दै आएका छन् ।

मोदीको बाल्यकालदेखि अहिलेसम्मका सफलता र सकारात्मक भूमिकाहरुलाई चलचित्रमा समावेश गरिएको निर्माताहरुले बताएका छन् ।

भारतमा यही अप्रिल ११ देखि सुरु भएको लोकसभा निर्वाचन आगामी मे १९ सम्म विभिन्न सात चरणमा हुन लागेको हो । निर्वाचनको परिणाम आगामी मे २३ मा सार्वजनिक गरिने कार्यक्रम छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा