१९ मंसिर २०७८, आईतवार

बारा र पर्सा हावाहुरी प्रभावितको घर निर्माण वैशाख २१ गतेदेखि

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १४:४७


वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताएका छन् । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गरे।

“हावाहाहुरी प्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ”, उनले भने । सङ्घीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नं २ को सरकारले सो काममा विमति नजनाउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं २ का मुख्य सचिवको संयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको समेत सहयोग हुने बताए ।

यही वैशाख २१ गते बारापर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनीयर संलग्न हुने जानकारी उनले दिए । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिए ।

उनले क्षतिग्रस्त भएका घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बनाइने बताए। यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुबाट जानकारी लिएका थिए । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई रु ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा