८ माघ २०७८, शनिबार
राजनीति

विभाजित मानसिकतामा कांग्रेसको जागरण अभियान !

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार २०:३३


कांग्रेस भित्रको विवाद, एक अर्कालाई गलाउने रणनीति

काठमाडौं । “विनाश काले विपरित बुद्धि ।” संस्कृतको यो उक्ति अहिले प्रमुख प्रतिपक्षमा सिमित रहेको नेपाली कांग्रेसका लागि सान्दर्भिक बनेको छ । प्रतिपक्षी भूमिकामा पुगेको वर्ष दिन नाघिसक्दासमेत कांग्रेस न त सडकमा देखियो न सदन मै ।

बल्लतल्ल जागरण अभियान सुरु गर्ने निर्णय त भयो , त्यो पनि विवादास्पद । गएको महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएयता नै भाँडभैलो चुलिएको हो पार्टीको आन्तरिक जीवनमा । देउवा सिंगो पार्टीको सभापति भन्दा आफ्नो गुटको संरक्षकको भूमिकामा मात्र केन्द्रित भएकाले यस्ता समस्या निम्तिएका हुन् ।

अहिले मुलुकमा अघोषित रुपमा साम्यवादको अभ्यास भइरहेको छ । दुई तिहाईको दम्भमा ओली सरकार जथाभावी गर्दैछ । उसका हरेक निर्णय पूर्वाग्रही र कम्युनिष्ट पक्षपोषणमा मात्र केन्द्रित छन् । साथै अहिले उजागर भएका कतिपय भ्रष्टाचार र अनियमितता प्रकरणमा पार्टीका शीर्ष नेता नै संलग्न भएको सार्वजनिक भएको छ । यस्तो बेला पनि कांग्रेसले आवाज उठाउन सकिरहेको छैन । किन होला ? जिज्ञासा उठ्नु स्वभाविक छ ।

अहिले सरकार एकपक्षीय र जनविरोधी काममा लिप्त छ । हत्या हिंसा र बलात्कारका घटना दिनहुँ भइरहेका छन् । पछिल्लो चरणमा बालुवाटारको जग्गा प्रकरणले सत्तारुढ दलको भ्रष्टाचारपे्रमी चरित्र उदांगो भएको छ । यस्तो बेला पनि कांग्रेसले सडक र सदनमा सशक्त आवाज उठाउन नसक्नु विडम्बनाको विषय हो । जागरण अभियानमा पनि त्यही नियति दोहरिने छनक आइसकेको छ ।

खासगरी देउवाले देखाएको गुटप्रिय चरित्र नै यसको कारक बन्न पुगेको छ । अहिलेको बेला कांग्रेसका लागि उर्जाशील बन्ने अवस्था हो । सत्तासिनहरु अहिले लुट अभियानमा छन् । जताततै बेथिति र अस्तव्यस्त छ । जनता कम्युनिष्टको नामा निर्वाचित सरकारको कामप्रति दिग्दार बनेको अवस्था छ । तर कांग्रेस यसलाई उपयोग गर्नसक्ने अवस्थामा अझैं छैन । त्यो पनि आफू भित्रकै समस्याले गर्दा । जागरण अभियान जस्तो महत्वपूर्ण कार्यक्रम एकपक्षीय रुपमा घोषणा गरेको आरोप रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले लगाएको छ ।

सभापति निर्वाचित भएको यतिका समय वितिसक्दा पनि विभागसमेत गठन गर्न नसक्ने र गर्दा पनि भागबण्डामा गर्ने नीति अपनाउने प्रवृत्तिले सग्लो कांग्रेस एक बनाउन नसकेको आरोप छ देउवामाथि । हुन पनि देउवाले गुट निमिट्यान्न पार्ने भन्दा मलजल गर्ने नीति अख्तियार गरेका छन् । त्यसैले सिटौला गुट पनि अस्तित्वमा आएको छ । अहिले जागरण अभियान शुरु गर्नु पूर्व आफू निकट नेतासँग मात्र परामर्श गरेको आरोप इतर पक्षले लगाएको छ । यस्तो विभाजित मनस्थितिमा हुने जागरण अभियान कत्तिको सशक्त र प्रभावकारी होला ? प्रश्न उठेको छ ।

अहिले मुलुकमा अघोषित रुपमा साम्यवादको अभ्यास भइरहेको छ । दुई तिहाईको दम्भमा ओली सरकार जथाभावी गर्दैछ । उसका हरेक निर्णय पूर्वाग्रही र कम्युनिष्ट पक्षपोषणमा मात्र केन्द्रित छन् । साथै अहिले उजागर भएका कतिपय भ्रष्टाचार र अनियमितता प्रकरणमा पार्टीका शीर्ष नेता नै संलग्न भएको सार्वजनिक भएको छ । यस्तो बेला पनि कांग्रेसले आवाज उठाउन सकिरहेको छैन । किन होला ? जिज्ञासा उठ्नु स्वभाविक छ ।

तर खोजी पस्दा हरेक अनियमितता र गलत काममा कांग्रेस नेतासमेतको सहभागिता देखिन थालेको छ । जसले गर्दा तैं चूप , मै चूपको अवस्था निर्माण भएको छ । चाहे त्यो संबैधानिक परिषदको बैठकमा विपक्षी दलको नेतालाई नबोलाइएको प्रसंग होस् या बालुवाटारको ललितानिवास जग्गा प्रकरण नै किन नहोस् । सरकारले विगतमा नियुक्त गरेका राजदूतलाई भटाभट फिर्ता बोलाइरहेको छ । राम्रो काम गरेर स्यावासी पाएका राजदूतलाई समेत आस्थाका आधारमा फिर्ता बोलाउँदा कांग्रेसले प्रश्न सोध्न सकेको छैन । कारण सभापति देउवाकी सासु प्रतिभा राणालाई भने यो सरकारले निरन्तरता दिएको छ । उनी जापानका लागि नेपाली राजदूत हुन् ।

बैशाख २५ देखि जेठ २५ सम्म एक महिनाका लागि जागरण अभियानको घोषणा गरेको नेपाली कांग्रेसले ७७ जिल्लामा पठाउने केन्द्रीय नेता पनि देउवा गुटले एकपक्षीय रुपमा खटाएको गुनासो रहेको छ । पौडेल हुन् वा सिटौला दुबैले यस्तो संबेदनशील विषयमा कुनै ठोस छलफल नभएको आरोप लगाएका छन् । यो विभाजित मानसिकतामा जिल्ला पुग्ने नेता कार्यकर्ताले कस्तो जागरण ल्याउलान् ?


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा