२२ मंसिर २०७८, बुधबार

सल्यानका बा–आमाले सोधे :– हाम्रो सामाजिक सुरक्षा भत्ता खै ?

प्रकाशित मिति :  १९ बैशाख २०७६, बिहीबार ११:५९


सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ ।

नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह नेपालीले आफूले त्यही भत्ताबाट नियमित औषधि किन्ने गरेकामा भत्ता नपाएपछि समस्या परेको बताए । “नगरपालिकाबाट आएको भत्ताले नियमित खाने औषधि किनेर खान्थे भत्ता नआएको छ महीना बितिसक्यो औषधि किन्ने एक पैसा छैन”, नेपालीले भने ।

घरको दैनिक खर्च टार्दै आएकी वनगाड कुपिण्डे–४ चिउराकी विरमी कामीलाई पनि भत्ता नपाएपछि समस्या पर्न थालेको छ । “आम्दानीको अर्को कुनै स्रोत छैन, त्यही भत्ताले घरको खर्च टर्दै आएको थियो छ महीनासम्म नपाउँदा घर चलाउन गाह्रो हुनथालेको छ”, विरमीले भनीन्।

अपाङ्गता भएका व्यक्ति वनगाड कुपिण्डे–५ राउचेका ठाकुर बुढाथोकीको पनि समस्या उस्तै छ । मासिक रु ६०० का दरले भत्ता पाउँदै आएका बुढाथोकीले नपाउँदा आफूलाई आवश्यक पर्ने सामान खरीद गर्न नपाएको दुखेसो पोखे ।

नगरपालिकाभित्रका दुई हजार ९७३ ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकामा यस आर्थिक वर्षको कात्तिकदेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा नभएको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले जानकारी दिए । “कार्यालय प्रमुख सरुवा भएर गएपछि रकम निकासा हुनसकेको थिएन, अब नयाँ आइसक्नुभएको छ छिट्टै सामाजिक सुरक्षा भत्ता वितरण गर्छौँ”, पुनले भने ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा