२२ मंसिर २०७८, बुधबार
खोज / विशेष

भ्रमण वर्ष २०२० लाई क्रसर व्यवसायीको चुनौती, त्रिशूलीमा जलयात्रा व्यवसाय सङ्कटमा

प्रकाशित मिति :  २२ बैशाख २०७६, आईतवार ११:४९


crosser-nepal

काठमाडौं । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् ।

लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताए ।

उनले भने, “त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महीना धमिलो हुने गरेको छ, नदीभित्रै मेसिन प्रयोग गरिन्छ, जसले धार परिवर्तन भई नदीको सौंन्दर्य घट्ने र जलयात्राका लागि खतरा बढ्छ । बजारबाट निस्कने फोहर सिधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्न रुचाउँदैनन् ।” ठकुरीका अनुसार त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

नौ वर्षदेखि जलयात्रा गाइडको काम गर्दै आएका चितवनको इच्छाकामनाका मिलन गुरुङ पनि जथाभावी उत्खनन र फोहर फ्याँक्ने गर्दा त्रिशूली नदीमा जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउँछन् । जलयात्रासँग सम्बन्धित विभिन्न सङ्घसंस्था र व्यवसायीले कहीलेकाहीँ गर्ने सरसफाइले मात्र नदी सफा नहुनेको उनको भनाइ छ । पृथ्वीराजमार्ग आसपास रहेका बजारबाट निस्कने फोहर दैनिक त्रिशूली नदीमा फ्याँक्ने गरिएको छ ।

नेपालका करीब छ हजार नदीनालामध्ये त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ । त्रिशूली नदी काठमाडौं उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

व्यवसायी कमल ठकुरीका अनुसार त्रिशूली नदीको मध्यभाग धादिङको बेनीघाट रोराङ गाउँपालिका चारौँदीदेखि चितवनको इच्छाकामनास्थित कुरिनटारसम्म जलयात्राका लागि उत्कृष्ट रहेको छ ।

सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सय पर्यटकीय स्थानमध्ये त्रिशूली नदीलाई पनि समेटेको छ । गर्मी मौसम शुरु भएसँगै त्रिशूली नदीमा वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटकले जलयात्रा गर्छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा