८ आश्विन २०७८, शुक्रबार

होमबहादुर भन्छन्, ‘सीप त सिकियो, काम खोजिदिनुस्’

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १४:३४


दमौली । तनहुँ कारागारमा सजाय भोगिरहेका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित छन् ।

घरेलु तथा साना उद्योग विकास समिति र व्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उनलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ ।

कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छाबमोजिम तालीममा सहभागी भएका उनले सीप सिकेपछि अब कामको माग गरेका छन् । उनले भने, ‘सीप त सिकियो, अब कामको खोजी गरेका छौँ ।”

उनको कैद भुक्तानी हुन अब दुई महीना बाँकी छ । कैद भुक्तान गरेर बाहिर निस्केपछि समेत सिलाइकटाइ व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उनले बताए । उनले भने, “विभिन्न कारणवश कारागार आएर सजाय काटेँ, अब बाहिर निस्केर उद्यमी बन्ने सोच लिएको छु ।”

कारागारमा नौ महीनादेखि सजाय काटि रहेका गणेशबहादुर गुरुङले समेत तालीमपछि अबको कामको सुनिश्चितता हुनुपर्ने बताए ।

तालीमले उत्साहित बनाएको भन्दै उनले कारागार प्रशासनले कामको खोजी गरिदिनुपर्ने उनले माग गरे । उनले भने, “आफूको मागबमोजिम नै कारागारले सिलाइकटाइ तालीमको व्यवस्था गरिदियो, अब कामको पनि व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।”

होमबहादुर र गणेशबहादुर जस्तै कारागारमा सजाय भोगिरहेका ११ जना कैदीबन्दी सिलाइकटाइ तालीमपछि उत्साहित भएका छन् । कारागारमा यत्तिकै बितिरहेको समयलाई सदुपयोग गर्दै सिलाइकटाइ तालीम लिएपछि उनीहरुमा उद्यमी बन्ने सोच पलाएको छ ।

कारागारबाट निस्किएपछि सिलाइकटाइ तालीम सञ्चालन गरेर उद्यमी बन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताए । सिलाइकटाइ तालीम लिनुभएका मोतीलाल गुरुङ, नुर अहमद मियाँ, मोतीलाल सुनार, सन्तबहादुर श्रेष्ठ र विष्णुकान्त परियारले समेत अब काम खोजीदिन आग्रह गरेका छन् ।

माघ २४ गतेदेखि शुरु भएको तालीममा प्रशिक्षक मानबहादुर परियारले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा कैदीबन्दीलाई मेसिन फिटिङ गर्ने, कपडा काट्ने, टाँकघर बुन्ने, पेटीकोट सिलाइ, सर्ट सिलाइ, पाइन्ट सिलाइलगायतका सीप प्रदान गरिएको दर्जीले जानकारी दिए ।

जिल्ला कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीको मागबमोजिम नै सिलाइकटाइ तालीम सञ्चालन गरिएको जानकारी दिँदै अबको कामको व्यवस्थाको लागि पहल गरिने बताए ।

उनलेभने, “गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका काम कारागारमा पनि उपलब्ध गराउन प्रयास भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बन्न सहयोग पुगेकोले कैदीबन्दीले सीपको सदुपयोग गर्नुपर्ने बताए ।

उनले कारागारमा रहेका अन्य कैदीबन्दीका लागि समेत माग बमोजिम तालीमको व्यवस्था गरिने जानकारी दिए । २५ जना क्षमता रहेको तनहुँ कारागारमा ६९ थुनुवा र ६७ कैदी गरी १३६ जना रहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा