८ आश्विन २०७८, शुक्रबार
राजनीति

बहुसङ्ख्यक युवामा प्रतिभा छ तर अवसर छैन : महानायक राजेश हमाल

युवाको ऊर्जा देशको विकासमा

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार ११:४१


बाजुरा । नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् ।

बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए ।

हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताए ।

बहुसङ्ख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो । उनका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । “जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो”, हमालले भने ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए ।

गृह निर्माणकर्ता एवं कान्छो अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे ।

क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए ।

खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए ।

बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा