१३ माघ २०७८, बिहीबार

यार्सा टिप्नकै लागि लेकतिर लर्को,सरकारकाे विद्यार्थी भर्ना अभियान कतातिर

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १२:०२


निकुञ्जमा यार्सागुम्बा चोरी, स्थानीयवासी त्रसित

बझाङ । विगत वर्षजस्तै यस वर्ष पनि सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।

तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए ।
यहाँका धेरैजसो स्थानीयवासी अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् ।

विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि समेत बन्द भएका छन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका प्रेमबहादुर बोहराले बताए ।

विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ ।

सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महीनाका लागि बन्द भए संगै  सरकारकाे देशव्यापी भर्ना अभियान प्रभावित भएकाे छ । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द गरेर यार्सा टिप्नकै लागि लेकतिर लर्को लागेर जाने गरेका छन् ।

यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात/आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि गएका छन् ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम शुरु भइसकेको छ भने यार्सागुम्बा टिप्न र व्यापार गर्नका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ४० हजार मानिस यहाँ आउने गरेका छन् ।
धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा