३१ भाद्र २०७८, बिहीबार

मुक्त कमैया शिविरमा पानीको हाहाकार

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १४:४१


कमैया

कञ्चनपुर । बेदकोट नगरपालिका–५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ ।
बिहीबार बेलुकी बस्तीमा रहेको धारामा पानीमा लाइन बसेकी अनिता विकलाई हरेक दिन पानीका लागि लाइन बस्नु बाध्यता बनेको छ ।
“गर्मीयामका तीन महीना त प्यास मेटाउनै मुश्किल पर्छ”, धरमपुरकी विकले भनिन् , “मुक्तभएपछि यहाँ पानीको समस्या हरेक वर्ष झेल्नुपरेको छ ।” फागुनदेखि असार महीनामा आकाशबाट पानी नपरुञ्जेलसम्म बस्तीमा पानीको समस्या हुने गरेको विकको भनाइ छ ।

“सयौँ परिवार रहेको गाउँमा मुश्किलले दुई/तीन वटा नल्का (धारा) मा थोरथोरै पानी आउँछ”, उनले भनिन्, “यहाँ राति १२ बजेसम्म पानी भर्न धारामा बस्नुपर्ने बाध्यता छ ।” त्यसैगरी बस्तीकै सुनिता थारुले पनि पानीकै कारण बस्तीभरि समस्या रहेको बताइन् ।
“कमैयाबाट मुक्त भएपछि स्वतन्त्र भएको आभास त भयो,तर सामान्य सुविधासमेत बस्तीमा नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ ।” सिँचाइको अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको मुक्तकमैया बस्तीका स्थानीयवासीको दुखेसो छ ।

“जहिल्यै तरकारी किनेर खानुपर्छ”, उनले भनिन्, “कृषिमै निर्भर रहेपनि थारु समुदाय मजदूरी गरेर परिवार पाल्दैछन् ।” विसं २०५८ मा पुनःस्थापना भई शिविरमा बसेयता पानीको समस्या रहेको स्थानीय लक्ष्मी औजीले बताइन् ।
बस्तीमा पानीका लागि बोरिङ जडानको काम भइरहेको भए पनि त्यसको निर्माण गति सुस्त रहेको उनकाे भनाइ छ ।

“अठार वर्षदेखि यहाँ पानीको समस्याबाट मुक्त हुन सकेनौँ”, औजीले भनिन्, “हाम्रो बस्तीसम्म पनि स्वच्छ खानेपानी पुग्ला र ? ” स्थानीय कल्पना डगौराले पानी नहुँदा नुहाउन र लत्ताकपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको बताइन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा