३१ भाद्र २०७८, बिहीबार
राजनीति

ओली सरकारको निरंकुशता विरुद्ध पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा

सरकारले विधेयक फिर्ता लिनुपर्ने माग

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार २०:५६


काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गरेको छ ।महासंघले सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने निष्कर्ष निकालेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल व्यवहारमा रहेको प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी प्रेसमाथि नियमन गर्ने उद्देश्यले मिडिया काउन्सिल स्थापना गर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ ।

शुक्रबार बसेको महासंघको बैठकले उक्त विधेयक सरकारले फिर्ता लिनुपर्ने माग गर्दै त्यसका लागि दवाब मुलक कार्यक्रम समेत तय गरेको छ । महासचिव रमेश विष्टले विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा विधेयकको पुनः मस्यौदा गर्नुपर्ने बताए ।

महासंघले संसदमा विचाराधीन रहेको विज्ञापन र सूचना प्रविधि सम्बन्धी ऐनमा रहेको प्रेस स्वतन्त्रता बिरोधी दफा सच्याउन समेत ध्यानाकर्षण गराएको छ । महासंघले सरकार तथा संसदलाई दवाब दिन छलफल, ज्ञापनपत्र बुझाउने, पत्रकारहरुले कालोपट्टी बाँधेर काम गर्ने तथा देशैभर संचार साधन सहित वृहत प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

कार्यक्रमा सहभागी भएका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विद्येयक भुमिगत रुपमा आएको बताएका छन् । छलफलमा सहभागी बस्नेतले थप कुरा गर्दै भने, “प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याललाई त थाहा छैन विद्येयक कसरी आयो ? यो सब ओली सरकारको बदनाम गराउन यस्तो गरिएको हो ।”

संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा विधेयक ल्याइनुपर्ने मागसहित ओली सरकारको निरंकुशता विरुद्ध पत्रकार महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ ।

महासंघका निर्णय जस्ताको तस्तै :

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ बैशाख २७ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ । महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गर्दछ ।

२. संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्वन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन माग गर्दछ । साथै मस्यौदा हुँदै गरेका आम संचार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गर्दछ । यी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, संरक्षण र संवद्र्धनका लागि महासंघ सरकार र सम्वद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउदछ ।

३. केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बस्यो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले निम्नाअनुसार विरोधका कार्यक्रम तय गरेको छ ।

संघर्षका कार्यक्रमहरु
बैशाख २९ गतेः महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल ।
बैशाख ३० गतेः संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाइने ।
बैशाख ३१ गतेः संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल ।
जेठ १ गतेः कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने । महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने ।
जेठ ३ गते ः काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने ।

    रमेश विष्ट
महासचिव 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा