fbpx

रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा



नेपालबहस संवाददाता
 



रुरु गाउँपालिका

गुल्मी । गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो ।

सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताए ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताए ।

उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् । नयाँ शैक्षिकसत्रसँगै उक्त गाउँपालिकाले गाउँगाउँमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर भए/नभएको तथ्याङ्क सङ्कलन गरेकोे थियो ।

गाउँपालिकाका विद्यालय उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन शिक्षा समिति र गाउँपालिकाभित्रका प्रधानाध्यापकको बैठक बसेको थियो । बैठकले भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि मात्र अभियान सञ्चालन गरिएको स्रोत व्यक्ति वामदेव ज्ञवालीले बताए।

गाउँगाउँमा अभियान सञ्चालन गर्दा विद्यालयमा नियमित नआउने तथा पढ्दापढ्दै बीचमै विद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालय नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बीचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको उनले जानकारीदिए । चालू आर्थिक वर्षमा उक्त गाउँपालिकाले झण्डै रू एक करोड शिक्षा क्षेत्रमा खर्च गरेको छ ।


सम्बन्धित समाचार