_BaoHaiquan_Vn
Advertisement

काठमाडौं। तीन महिनाको अवधिमा बाणिज्य बैंकहरुबाट २४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ। गत पुस मसान्तमा २८ वटा बाणिज्य बैंकहरुको निक्षेप २६ खर्ब ५५ अर्ब रुपैयाँ थियो। चैत मसान्तसम्म आउँदा घटेर २६ खर्ब ३० अर्बमा झरेको छ।

जसमा १२ वटा बाणिज्य बैंकहरुको निक्षेप घटेको छ। एनआइसी एशियाको मात्रै २१ अर्ब रुपैयाँले निक्षेप घटेको छ। प्राइम बैंकको ८ अर्ब रुपैयाँले निक्षेप बाहिरिएको छ। विदेशबाट ऋण ल्याएको एनएमबी बैंकको भने ५ अर्ब रुपैयाँले निक्षेप बढेको छ। अन्य केही बैंकले भने निक्षेप बढाएका छन्।

निक्षेप घटेसँगै ऋण लगानी पनि निकै सुस्त देखिएको छ। तीन महिनाको अवधिमा बाणिज्य बैंकहरुले दुई अर्ब ३४ करोड रुपैयाँले ऋण लगानी बढाएका छन्।

Advertisement

पुसमा बाणिज्य बैंकहरुको ऋण लगानी २३ खर्ब ६४ अर्ब रुपैयाँ थियो। अहिले थोरै बढेर २३ खर्ब ६७ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ। निक्षेप तथा ऋण लगानी घटेसँगै बैंकहरुले स्प्रेडदर बढाएर नाफा सुधार गरेका हुन्।

सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा नगद प्रवाह कम हुँदै गएको छ। तेस्रो त्रैमासिक अवधिमा कर तथा राजस्वबाट उल्टै सरकारी ढुकुटीमा पैसा थुप्रिएर समस्या आएको छ। निक्षेप घटेसँगै बैंकहरुले माग अनुसार ऋण लगानी विस्तार गर्न सकेका छैनन्।

बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको नौ महिनामै ४५ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बैंकहरुले गत वर्षको तुलनामा यस वर्ष २७.६६ प्रतिशतले नाफा बढाएका हुन्। गत वर्षको यहि अवधिमा बाणिज्य बैंकहरुले ३८ अर्ब ६ करोड रुपैयाँ नाफा गरेका हुन्।

पुसको तुलनामा चैतमा १४ अर्ब ८४ करोड रुपैयाँ नाफा बढेको छ। यो भनेको ४८ प्रतिशतको वृद्धि हो।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ४९ करोड रुपैयाँ गरेको छ। निजी क्षेत्रको नबिल बैंकले तीन अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको गत बर्षको भन्दा ९ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ।

पूँजी बृद्धिसँगै ऋण लगानीमा आक्रमक देखिएका बाणिज्य बैंकहरुको खराब कर्जा भने बढ्दै गएको छ। गत असार यता अधिकांश बैंकहरुको खराब कर्जा बढ्दो क्रममा छ। असारको तुलनामा ९ वटा बाणिज्य बैंकहरुले खराव कर्जा सुधार गरे पनि बाँकी बैंकहरुको बढेको छ।

खराब कर्जा बढ्दै गर्दा धेरैजसो बाणिज्य बैंकको नाफाको वृद्धिदरमा प्रभाव पारेको छ। खराब कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकको नाफामा सबैभन्दा धेरै प्रभाव पारेको छ।

दुई प्रतिशतभन्दा माथि खराब कर्जा हुने बैंक अफ काठमाण्डू, प्रभु बैंक, नेपाल बैंक, एनसीसी बैंक, कृषि विकास बैंक र बाणिज्य बैंक रहेका छन्। तीन सरकारी बाणिज्य बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराव कर्जा क्रमश ४.२८, ४.२२ र २.७१ प्रतिशत छ।

Advertisement