६ माघ २०७८, बिहीबार
समाचार

विवाद र असन्तुष्टिमा एन्फा

प्रकाशित मिति :  १ जेष्ठ २०७६, बुधबार १३:३०


anfa

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सदस्यहरूको असन्तुष्टि यदाकदा सुनिए पनि औपचारिक रूपमा सार्वजनिक भएको थिएन । तर केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्षसहित तीन सदस्यले बैठक बहिस्कार गरेपछि एन्फा विवाद सतहमा आएको छ ।

मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठक विधानसम्मत नभएको कारण देखाउँदै निर्वाचित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्य नुवाकोटका पूर्णमान चित्रकार र तनहुँका रत्नकुमार श्रेष्ठले बैठक बहिस्कार गरे ।

चितवनमा गत भदौमा एन्फाको विधान संशोधन गरिएको थियो । त्यही विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत नभई लागू गर्न खोजिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका थिए । ‘‘विधान राखेपबाट पारित नहुन्जेल वैधानिक हुँदैन, भविष्यमा अध्यक्षज्यूलाई नै अप्ठेरो पर्नसक्ने देखेर बेलैमा सचेत गराएका हौं, तर उहाँहरू मान्नुभएन । विधानविपरीतको बैठकमा हामी बस्न सकेनौं,’ उपाध्यक्ष खड्काले भने ।

मंगलबारको एन्फा बैठकले भने उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

यसकै आक्रोशको परिणामस्वरुप उपाध्यक्षखड्काले सामाजिक सञ्जालमार्फत फ्रान्समा हुने आसन्न फिफा कंग्रेसमा सहभागी नहुने घोषणा गरेका छन् । तर अन्तिम निर्णय नगरेको र बुधबार छलफलपछि निर्णय गर्ने उनले बताए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने उपाध्यक्ष खड्काको विधानबारे राखेको तर्कको कुनै तुक नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपाध्यक्षले भनेजस्तो विधानलाई राखेपले स्विकृति नदिएको होइन ।
राखेप प्रतिनिधिकै रोहबरमा विधान पास भएको हो र राखेपको छापसहितको प्रति हामीसँग सुरक्षित छ,’ उनले भने, ‘त्यही विधानअनुसार हामीले विराटनगरमा विशेष अधिवेशन सम्पन्न गरिसक्यौं । अहिले आएर विधानअनुरुप भएन भन्नु जायज होला र रु’महासचिवले नयाँ विधानबारे फिफा र एएफसीसँग पनि समन्वय गरिसकेको जानकारी गराए ।

एन्फा कार्यसमिति बैठकले आर्थिक वर्ष ०७६/७७ का लागि वार्षिक बजेट र कार्यक्रम पारित गरेको छ । जिल्ला, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गरी यसै वर्षदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अर्को वर्षदेखि राष्ट्रिय लिग हुने भएको छ ।

बैठकले संघमा अनुबन्ध रहेका ४५ जिल्लामा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबको सम्भाव्यता अध्ययन गर्ने तथा ४५ मध्ये १० जिल्लामा एकैपल्ट भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी कार्यविधि पनि लागू गरिने निर्णय भएको छ ।

एन्फामा आबद्ध व्यक्तिहरूले संघको हितविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकले प्रवक्ता किरण राईको संयोजकत्वमा पदाधिकारीले पालना गर्नुपर्ने आचारसंहिता निर्माणको जिम्मा दिइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा