३१ भाद्र २०७८, बिहीबार
राजनीति

आज पत्रकारहरूले सञ्चार साधनसहित नयाँबानेश्वरमा बृहत प्रदर्शन गर्ने

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने माग

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार ०९:५७


काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो ।

नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको सन्दर्भमा सरकारले मिडियालाई नियन्त्रण गर्ने गरी विधेयक ल्याउन खोज्नु आमसञ्चार क्षेत्रका लागि दुर्भाग्यपूर्ण हुने सङ्गठनको ठहर छ ।

सङ्घीय संसद्मा दर्ता भएको विधेयकमा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई रु २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ भनिएको छ ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले मिडिया काउन्सिल विधेयक नेपालको संविधानको विपरीत रहेको भन्दै तत्काल फिर्ता लिएर विज्ञको सल्लाह र सुझावको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले नागरिकको स्वतन्त्रता कुण्ठित पार्ने गर्ने गरी विधेयक ल्याउने तयारी गरेको भन्दै समाचार लेखेकै कारण पत्रकार जेल हाल्नुहुँदैन भने।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रमा अङ्कुश लगाउन सक्ने भन्दै नेपाल पत्रकार महासङ्घ आन्दोलनमा छ ।

यसैबिच, सञ्चारसम्वद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको पहिलो चरणको आन्दोलनका क्रममा आज जेठ ३ गते काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित उपस्थित हुन आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई महासंघले आह्वान गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा