३१ भाद्र २०७८, बिहीबार

एकीकृत घुम्ती शिविर : एकै दिन ५०० जनालाई नागरिकता

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १०:२४


डोटी । बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए। त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिचयपत्रसमेत लिएका छन् ।

जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसलाई गाउँमै गएर नागरिकता वितरण, मतदाता परिचयपत्रलगायतका सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

उनले भने, “जनताले पाउनुपर्ने सार्वजनिक सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्ने अभियान र सुशासन ऐनको मर्मअनुसार घुम्ती शिविर सञ्चालन गरी सदरमुकाम आउन नसक्नेलाई नागरिकता वितरण गरेका छौँ ।” डोटीको सन्दर्भमा अत्यावश्यक अवस्थामा नागरिकता बनाउनेबाहेक तत्कालै आवश्यक नभएमा नागरिकता नबनाउनेको सङ्ख्या बढी भएको पाइएको र जिल्लामा सञ्चालन गरेका घुम्ती शिविरमा बढी सङ्ख्यामा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै उक्त शिविरमा ९६ वर्षीया भागरथीदेवी थापाले पनि नागरिकता पाएका छन् । नागरिकता पाएपछि भागरथीदेवी निकै खुशी भएका छन् । जिल्ला सदरमुकाम टाढा भएको र नागरिकता लिन नसकेकाले घरैमा शिविर सञ्चालन हुँदा नगरिकता लिन आएको उनले बताए । उनले भने, “जिल्ला प्रशासन टाढा छ, नागरिकता नहुँदा भत्तासमेत पाएकी थिइनँ, गाउँमै नागरिकता पाएँ अब भत्ता पनि पाउने छु ।” नागरिकता नभएका कारण उहाँले हालसम्म मतदानसमेत गर्न पाएका थिए ।

यसअघि डोटीको बोगटानफुड्सिल गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा पनि शिविर सञ्चालन भइसकेको र बाँकी अन्य स्थानीय तहसँग पनि समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गरी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

उनले भने, “हामीले केही स्थानीय तहमा शिविर सञ्चालन गरी नागरिकतालगायतका सेवा प्रदान गरिसकेका छौँ, बाँकी रहेका स्थानीय तहमा क्रमिकरूपमा शिविर सञ्चालन हुनेछन् ।”


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा