८ आश्विन २०७८, शुक्रबार
उर्जा/सिंचाई

कुलमानमाथि भ्रष्टाचारको आरोप, भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छुः कुलमान

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार १५:१३


काठमाडाैँ । नेपाल विद्मुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले घिसिङमाथि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर र ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुबाट बक्यौता असुली गर्ने नाममा ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।

तर नेपाल विद्मुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
घिसिङले नेपाल विद्मुत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत  गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताए ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको सार्वजनिक लेखा समितिका सदस्य तथा सांसद मोदीले आरोप लगाए ।

‘त्रिशुली जलविद्मुत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ?’ मोदीले बैठकमा प्रश्न गरे ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग पनि गरे ।

सांसदहरुले बोल्ने पालो सकिएपछि सभापति शाहले उर्जा सचिव दिनेश घिमिरेलाई बोल्ने पालो दिए । तर, कुलमान अगाडि नै बोल्न चाहे । सभापतिले पहिला सचिवलाई नै बोल्ने पालो दिए । सचिव बोलिसकेपछि कुलमानले बोल्ने पालो पाए । त्यसपछि कुलमानले डेडिकेटेड फिडरसम्बन्धी जवाफ दिएपछि आफूमाथि लागेको आरोपको खण्डन गर्न थाले ।

सांसदजस्तो पदमा बसेको व्यक्तिले यत्तिकै आरोप लगाउने कि प्रमाण सहित बोल्ने ? उनले मोदीलाई भने । हामी इमानदारी साथ काम गरिरहेका छौ, गल्ती गरेको भए प्रमाण ल्याउनुस्, जुनसुकै कारवाही भोग्न तयार छु । उनी आक्रोशित भए, कतिपय विकासका काममा अल्झिएका मुद्दा सल्टाउन माननीयहरुले सहयोग गर्नुस्, त्यो आयोजनामा माननीय कै अवरोध छ । यसरी विकास हुदैन ।’


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा