८ आश्विन २०७८, शुक्रबार

ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जना पक्राउ

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार १३:४८


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न युनुस विमानस्थल पुगेका थिए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार बरामद नक्कली नोट गन्ने काम भइरहेको छ । ‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो’, विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत पाकिस्तानबाट ३ जना काठमाडौं आएका थिए ।

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा