११ आश्विन २०७८, सोमबार
राजनीति

सरकारको गलत रवैयाप्रति सजग रहन निरन्तर खबरदारी : नेता सिंह

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार १४:०७


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गरेका छन् ।

वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताउदै ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याएका हुन्।

राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले ‘दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए । जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको र कान्डै कान्डमा मुछिएको भन्दै उनले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताए ।

उनले भने कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन ।  सक्दैन राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काममा भ्रष्टाचार भएका कुराहरु सार्वजनिक भइरहेकाले यो दुःखद भएको बताए ।

भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको उनले बताए । भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकारले गरेको उनको भनाइ छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको बताए ।  कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सरकारका गतिविधि मौलिक अधिकार कुण्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने उनले बताए । कार्यक्रममा काठमाडौं कांग्रेस सभापति सबुझ बानियाँले पार्टीले अघिसारेका जुनसुकै गतिबिधिलाई सफल बनाउन काठमाडौं कांग्रेस तयारी अवस्थामा रहेको बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा