३१ भाद्र २०७८, बिहीबार
समाज

विस्फोट भएको स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती, मृतक केसी विप्लव कार्यकर्ता भएको पुष्टी

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार १९:२१


Security of Nepal

काठमाडौं । काठमाडौंमा आज दिउँसो भएको विस्फोटनमा परी तीन जनाको निधन भएपश्चात घटना स्थलमा सुरक्षा निकायको तीनवटै अंग परिचालन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइलकमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मृतक केसी विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको भेटिएकाे छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।

घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ । प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए । विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो ।

उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ५ जना घाइते भएका छन् ।

सुकेधारा र घट्टेकुलोमा सिलिन्डर ग्याँस विस्फोट, तीन जनाको मृत्यु !

निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । दुवै घटनास्थलमा नेपाली सेना तथा नेपाल प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् । सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको जानकारी आए पनि सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।

त्यहाँ पनि घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ । तर आफैँ विस्फोट भयो कि गराइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विस्फोट स्थलमा थप विस्फोटक पदार्थ हुनसक्ने सम्भावना भएकाले सेनाको बम डिस्पोजल टोलीले काम थालेको छ । १३ गतेको नेपाल बन्द सफल परौं भन्न पर्चा पनि भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा