८ आश्विन २०७८, शुक्रबार

गाउँपालिका भवन निर्माणमा जग्गादान

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार ०७:२७


दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् ।

वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् ।

बन्दीपुर गाउँपालिका–१ निवासी कृष्णराज अधिकारी, सुनिलबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिका–११ निवासी कुलप्रसाद गुरुङ, कृष्णकुमारी गुरुङ, पोखरा महानगरपालिका–७ निवासी मोहनकुमारी कटुवाल, पोखरा महानगरपालिका–१८ निवासी दुर्गादेवी थापा, पोखरा महानगरपालिका–१२ निवासी हेमबहादुर थापा र पोखरा महानगरपालिका–७ निवासी वसन्त कटुवालले जग्गादान गरेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।

उनका अनुसार पृथ्वी राजमार्गसँगै जोडिएको रिमाल्नीको जग्गाको मूल्य प्रतिरोपनी रु एक करोड ४० लाख रहेको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको वडाको भवन निर्माणका लागि जग्गा खोज्ने क्रममा सर्वसाधारणले जग्गा उपलब्ध गराएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।

उक्त जग्गामा वडा कार्यालयको भवन निर्माण शुरु भइसकेको छ । जिल्ला समन्वय समिति तनहुँ र गाउँपालिकाको रु ८८ लाखको लागतमा भवन निर्माण शुरु गरिएको हो । बन्दीपुर गाउँपालिका सबै वडा कार्यालयको भवन निर्माण गर्न जुटेको छ ।

भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ भवन निर्माण थालिने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार वडा नं २ को भवन निर्माण हुने प्रक्रिया शुरु भइसकेको छ भने वडा नं ३ को लागिसमेत जग्गा प्राप्त भइसकेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा