७ आश्विन २०७८, बिहीबार
तस्करी

काठमाडौंका विभिन्न ठाउँमा बम विस्फोट : मृत्यु हुनेको स‌ंख्या ४ पुग्यो

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार ०७:५१


काठमाडौं । प्रतिबन्धित नेकपा ‘नेत्रविक्रम चन्द ‘विप्लव’ समूह’ ले आइतबार साँझ राजधानीका विभिन्न ठाउँमा बम विस्फोट गराउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शृङ्खलाबद्ध रुपमा भएका बम विस्फोटनका घटनामा परी काठमाडौंको सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हो । चन्द्रागिरीस्थित थानकोटमा समेत विस्फोट हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार सुकेधाराको नीलो पुलस्थित एक शैलुनमा ग्यास सिलिन्डर बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकको घटनास्थलमै तथा दुईजनाको ओम हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी अनामनगरको घट्टेकुलोस्थित एक घरको कोठामा कुकर बम विस्फोट हुँदा एक जनाको मृत्यु भयो । दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्भिक दाबी थियो । आइतबार नै साँझ चन्द्रगिरी नगरपालिका– ३ स्थित इँटाभट्टा चोकमा अर्को कुकर बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

यी तीनै घटनामा बम बनाउने क्रममा या व्यवस्थित गर्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ । इटाभट्टा चोकमा प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विस्फोट भएको र त्यसमा परी घाइते हुनेमध्ये आकाश लामा र अर्का एक पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

सुकेधारा विस्फोटका मृत्यु हुने २ को पहिचान खुलेको छ, जसअनुसार कपनको मिलनचोकमा बस्दै आएका ४४ वर्षीय हरि खड्का र कपनकै चुनिखेल निवासी सुरेन्द्र महर्जन रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेका छन् ।

उनले बम बनाउने क्रममा विस्फोट भएको प्रहरीसमक्ष वयान दिएका छन् । घाइते अन्यमा शैलुन सञ्चालक मोहत्तरीका ५९ वर्षीय ठाकुर र कपनमा बस्दै आएका विष्णु खड्का रहेका छन् । उता घट्टेकुलो विस्फोटमा परी मृत्यु हुने प्रज्वल शाही र घाइते रविन केसी रहेका छन् । केसी विप्लव समूह सम्बद्ध विद्यार्थी संगठन त्रिचन्द्र इकाई अध्यक्ष रहेको समेत खुलेको छ ।

आइतबार नै ललितपुरको लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाको टोलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा