११ आश्विन २०७८, सोमबार

पत्रकार थापाले पाए कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार १२:४३


krisna-sen

काठमाडौं । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरेका हुन् ।

रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहेका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताए । सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा गरे ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ‘१७ औँ कृण्ण सेन स्मृति दिवस २०७६’ तथा पुरस्कार वितरण समारोहमा पत्रकार चन्द्रलाल श्रेष्ठलाई सम्मान गर्दै । तस्वीर: रोशन सापकोटा

उक्त कोषबाट वर्षेनी गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराए । विसं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहेका थिए ।

यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रदान गरिएको हो । सिफारिस समितिका अन्य सदस्यमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी रहेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा