fbpx

प्रधानसेनापति पुरुष भलिबल : पुलिस र एपीएफ क्लबको दोस्रो जित !



नेपालबहस संवाददाता
 




काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार पुलिसले प्रदेश ५ लाई ३–० को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश ५ माथि २६–२४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्यो ।

जितसंगै समूह ’ख’ को पुलिसले २ खेलबाट ६ अंक जोडेको छ । गण्डकीले मंगलबार नै कर्णाली प्रदेशलाई २५–२१, २७–२५ र २५–१४ को सेटमा पराजित गर्दै तेस्रो जित निकालेको थियो ।

यस्तै समूह ’क’ बाट लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । एपीएफले सुदुरपश्चिममाथि २५–१७, २५–८ र २५–१७ ले हरायो ।

यो जितसंगै एपीएफले २ खेलबाट ६ अंक जोडेको छ । त्यस्तै आर्मीले मंगलबार भएको खेलमा प्रदेश नम्बर २ लाई २५–१५, २५–१२ र २५–१३ को सेटमा हराएको थियो ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।


सम्बन्धित समाचार