fbpx

रातो मच्छिन्द्रनाथकाे भोटोजात्रा जेठ २६ मा



नेपालबहस संवाददाता
 




ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको साथमा रहेको भोटो देखाउने दिन जेठ २६ गते परेको छ ।ललितपुरको ठटीमा २० दिन विश्राम लिन पुगेको नाथको रथ बिहीबार ठटीबाट कुमारी पाटी हुँदै सोझै जावलाखेल ल्याइयो ।

रथ जावलाखेल आइपुगेको चौथो दिनमा भोटो देखाउने प्रचलन रहेकोले यसपालि भोटो देखाउने दिन जेठ २६ गते पर्न गएको हो ।

जेठ ९ गते परम्परागत रूपमा नाथको पर्वसँग सम्वन्धित ज्योतिषीले ठटीबाट जावलाखेलतर्फ रथ लैजाने साइत निक्र्योल गरेका थिए ।

वैशाख २५ गते पुल्चोकबाट रथयात्रा सुरु भएर गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिचोक हुँदै जेठ ३ गते महिला मात्रले रथ तानेर ठटी ल्याएका थिए । ठटीमा ल्याइएपछि जावलाखेल लैजाने साइत हेर्नुपर्ने प्रचलन अनुसार रथ २० दिन ठटीमै रहनु परेको थियो ।

गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार रथमा तान कस्ने र धुपी हाल्ने काम सम्पन्न गरेर रथ जावलाखेलतर्फ लगिएको थियो । ज्यापु समाज, स्थानीय क्लव लगायत ज्येष्ठ नागरिक यात्रामा सरिक भए ।

जावलाखेलमा रथ आइपुग्दा जावलाखेल जात्रा व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जन सहितको जात्रालुले रथलाई पश्चिमाभिमुख गरेर व्यवस्थित राखेको थियो । भोटो देखाउने दिन राष्ट्र प्रमुखले जावलाखेल डवलीबाट पूर्वाभिमुख भई भोटा अवलोकन गर्ने प्रचलन छ ।


सम्बन्धित समाचार