fbpx

उपत्यकामा सवारीसाधनको गति तोक्दै ट्राफिक प्रहरी



नेपालबहस संवाददाता
 




काठमाडौं । तपाईंले काठमाडौँ उपत्यकाका सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारवाहीमा परी पाँच सयदेखि एकहजार पाँचसय रुपियाँसम्म जरिवाना तिर्नु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले यसबारे जानकारी गराए । उनले भने, “प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाउने प्रावधानको पहिलो चरणअन्तर्गत विस्तारित चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा लागु भइसकेको छ, दोस्रो चरणमा भक्तपुरमा र तेस्रो चरणमा काठमाडौँ उपत्यकाभरि नै यो प्रावधान लागु गरिने छ ।”

विस्तारित चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सवारी साधनको गति तोकी सकिएकोमा सो मापदण्ड उल्लङ्घन गर्ने चालकलाई मङ्गलबारबाट दण्ड जरिवाना व्यवस्था गरिसकिएको जानकारी महाशाखा प्रमुख पन्तले दिए ।

चक्रपथको सो खण्डमा अहिले ‘लेजर स्पिड गन’ को सहयोगमा सवारी साधनको गति मापन गर्ने कार्य भइरहेको बताउँदै उनले गति सीमा उल्लङ्घन गर्ने सवारी चालकलाई अहिले कारवाहीको सट्टा सम्झाउने र बुझाउने काम भइरहेको जानकारी दिए ।

सवारी साधनको गति मापन गर्ने यस प्रविधिले सवारी साधनको गति, स्थान र समयलगायतको विस्तृत जानकारी दिने गर्दछ । यो यन्त्रले एक सय पचास मिटरसम्मको दूरीमा रहेका सवारी साधनको गति मापन गर्ने गर्दछ ।

चक्रपथको सो खण्डको मुख्य लेनमा प्रतिघण्टा ५० किलोमिटर र ‘सर्भिस’ लेनमा प्रतिघण्टा बीस किलोमिटरको गति तोकिएको छ ।

गत वर्षको फागुनदेखि सञ्चालनमा आएको ९.९ किलोमिटरको चक्रपथको सो खण्डमा अहिलेसम्म ६६१ वटा सवारी दुर्घटना भएका छन् भने १२ जनाले ज्यान समेत गुमाइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसैगरी, सो अवधिमा २३ जना गम्भीर र ४५८ जना सामान्य घाइते भएका छन् ।


सम्बन्धित समाचार