वरिष्ठ अधिवक्ता न्यौपाने
Advertisement

काठमाडौं । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् ।

न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताए । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ । एउटा न्यायधिवक्ताले स्वतन्त्र ढंगले काम गर्न नपाउने र कोही कसैको आदेशमा चल्नुपर्ने अवस्था आएपछि राजिनामा गरेको बताए ।

मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए ।

Advertisement

संविधानको धारा एक सय ६० को उपधारा २ अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । मुख्यमन्त्री डोरमणि पौडेलले न्यौपानेलाई आफ्नो कानुनी सल्लाहकारमा सिफारिस गरेका थिए । न्यौपाने हेटौंडामा कानुन व्यवसाय गर्दै आएका थिए । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले वरिष्ठ अधिवक्ता न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

Advertisement