fbpx

हुवावेले रुसमा ५-जी सेवा विस्तार गर्दा चिनियाँ कम्पनीलाई राहत



नेपालबहस संवाददाता
 




एजेन्सी । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले रुसमा ५-जी सेवा विस्तार गर्ने भएको छ। आगामी वर्षबाट सेवा विस्तार गर्नेगरी हुवावेले बिहीबार रुसको टेलिकम कम्पनीसँग सम्झौता गरेको हो।

चिनियाँ राष्ट्रपति सी चिनपिङको ३ दिने रुस भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘५-जी टेक्नोलोजी र पाँचौं जेनेरेसन नेटवर्कको पाइलट प्रोजेक्ट सन् २०१९ वा २०२० मा सुरु हुनेछ।’

राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने भन्दै अमेरिका तथा केही पश्चिमा मुलुकहरुले हुवावेलाई कालो सुचीमा राखेका थिए। रुससँगको यो सम्झौतापछि भने गत महिनादेखि अन्तर्राष्ट्रिय बजारमा साख गुमाइरहेको हुवावेलाई केही राहत मिलेको छ।

हुवावेको ५-जी नेटवर्क विस्तार चीन-अमेरिका व्यापार युद्धको केन्द्रबिन्दुमा रहेको विषय पनि हो। अहिलेको समयसम्म आइपुग्दा यसले विश्वको सूचना तथा प्रविधिको क्षेत्रमै ठूलो प्रभाव पारिरहेको छ।

सूचना प्रविधि क्षेत्रमा विश्वकै ठूलो बजार मानिने अमेरिकाले चीनले ५-जी नेटवर्क विस्तारका नाममा यहाँ निगरानी बढाइरहेको भन्दै हुवावेलाई कालो सूचीमा राखेको थियो।

हुवावेले भने अमेरिकको यो भनाइलाई खण्डन गर्दै आएको छ। उसले आफू चिनियाँ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ। सूचना प्रविधिका क्षेत्रमा विश्वमै ठूलो बजार ओगटेको हुवावेमाथि अष्ट्रेलिया, न्युजिल्यान्डलगायत केही देशले पनि ५-जी नेटवर्कका लागि आवश्यक सामाग्रीको कारोबारमा प्रतिबन्ध लगाएका छन्।

ट्रम्प प्रशासनले हुवावेलाई अमेरिकामा ‘अविश्वसनीय कम्पनी’को सूचीमा राखेपछि विश्वकै सबैभन्दा बढी स्मार्टफोन उत्पादन गर्ने कम्पनी हुवावेलाई समस्या त परिरहेको छ नै। त्यसमाथि हुवावेले उत्पादन गर्ने चिप्सहरुको आधाभन्दा बढी अनुपातमा खरिद गर्ने अमेरिकी कम्पनीहरुलाई समेत यसले अप्ठेरोमा पारेको छ।

अमेरिकी व्यापार नीतिअनुसार अविश्वसनीय सूचीमा राखिएका कुनै पनि कम्पनीसँग कारोबार गर्न पाइँदैन। हुवावेमा प्रतिबन्ध लागेसँगै ५-जी विस्तारमा अमेरिकी कम्पनीहरुले ठूलो बजार हिस्सा गुमाउने आँकलन समेत गर्न थालिएको छ।

विश्वभर बढ्दो चिनियाँ प्रभावलाई कम गर्न पनि अमेरिकाले यस्तो कार्य गरेको आरोप समेत लगाइएको छ। गत वर्षदेखि नै अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गरेसँगै यी दुवै मुलुकबीच व्यापार युद्ध चलिरहेको छ।


सम्बन्धित समाचार