Advertisement

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

उक्त समितिले गरेको निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

सोमबार उक्त समितिले सरकारलाई स्थानीय तहका लागि लिइएकोे विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो ।

उनीहरुले ‘लोकसेवामा हस्तक्षेप चाहिँदैन’, ‘नातावाद र कृपावाद भित्र्याउन पाइँदैन’ ‘दिनैपर्छ आयोगलाई संवैधानिक अधिकार, हुनैपर्छ स्वतन्त्र प्रशासनिक सरकार’, ‘लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार’ लगायत नारा लगाएका थिए । विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुण्ठित गराउने भएकाले आन्दोलन गर्नुपरेको प्रदर्शनकारीको भनाई छ ।

सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहमा नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए ।

Advertisement