fbpx

मिडिया काउन्सिलविरुद्ध पत्रकार महासंघद्धारा तेस्रो चरणको आन्दोलन घोषणा



नेपालबहस संवाददाता
 




काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार महासंघले सरोकारवालाहरुसंग छलफल गर्दै असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी तथा लालटिन जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छ ।

महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वा्चित संघीय र प्रदेश सांसदलाई एसएमएसमार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासचिव रमेश विष्टले बताए । उनले सरकारले उक्त विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए ।

त्यस्तै महासंघका कार्यवहाक अध्यक्ष दिलिप थापा मगरले विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गरे ।

मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएको भन्दै महासंघले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

यस्तो छ, पत्रकार महासंघद्धारा जारी विज्ञप्ति

मिति :२०७६।०२।२८

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघको जेठ २७ गते उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर गरिएको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ ।

बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष महासंघले निकालेको छ । आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु र आम जनताको सहयोग र सहभागितासमेत प्राप्त भएको छ । महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग पुनःजोडदार माग गरेको छ ।

नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ । विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक छ । विगत ६ दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्षरत् महासंघ कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिस्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्न चाहन्छ । साथै, महासंघ आफैंमा पारदर्शी र स्वयंसेवी संस्था भएको स्मरण गराउन चाहान्छौं ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट छ । मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएकोले फिर्ता लिई सरोकारवालाहरुस“ग छलफल गरी समस्याको समाधान गर्नुको विकल्प नरहेको महासंघको ठहर छ । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।

तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन महासंघ आमसञ्चारकर्मी, सञ्चार सम्बद्ध संघ–संगठन, पेशाकर्मी, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक आहृवान गर्दछ । साथै, पहिलो र दोस्रो चरणको आन्दोलन सफल बनाउन सक्रिय सहभागिता जनाउने सबैमा महासंघ हार्दिक आभार प्रकट गर्दछ ।

महासंघले तेश्रो चरणको देहायबमोजिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ :-

क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।
(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने र आवश्यकताअनुसार कार्यक्रमलाई थपघट र परिमार्जित गरिने छ)
……………….
रमेश विष्ट
महासचिव


सम्बन्धित समाचार