Advertisement

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ को अन्त्यसम्ममा संसदीय तथा राष्ट्रपतीय निर्वाचन गर्न सरकारका तर्फबाट प्रस्ताव ल्याएका हुन् ।

सेराजले टेलिभिजन सम्बोधनमार्फत भने, “मेरो राष्ट्रिय जिम्मेवारीको आधार तथा हामी ‘सरकार’ माथिको आक्रमणका वावजुद मैले आज राजनीतिक पहलकदमी लिँदै वर्तमान् सङ्कट समाधानका लागि निर्वाचनको घोषणा गरेको छु र यसमा लिवियाली जनताले समर्थन जनाउन आग्रह गर्दछु ।”

उनले निर्वाचनका लागि आफूले संयुक्त राष्ट्रसंघीय नियोगको समन्वयमा लिवियामा राष्ट्रिय सम्मेलन गर्ने र सम्पूर्ण राष्ट्रिय शक्तिलाई भेला गरी देशका सम्पूर्ण भागबाट जनताको प्रतिनिधित्व गराउने प्रस्ताव पनि गरेका छन ।

Advertisement

प्रधानमन्त्रीका अनुसार देशमा आगामी अवस्थाका लागि एउटा रोड म्याप बनाई निर्वाचन सम्पन्न गर्नका लागि संवैधानिक आधार निर्माण गरी सम्मेलनबाट निर्वाचनका लागि सहमति जुटाइने छ ।

“सम्मेलनबाट निस्कने नतिजामा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउनका लागि विशेष सम्मेलनको आह्वानसमेत गरिनेछ,”सेराजले भने । तर सैनिक नेता खालिफा हफ्तरको नेतृत्वमा रहेको सेनाले गत अप्रिलदेखि सेराज सरकारको नियन्त्रणमा रहेको त्रिपोलीलाई आफ्नो नियन्त्रणमा लिन अभियान शुरू गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यस बर्ष लिवियामा भएका झडपमा कुल ६५३ जना मारिएका छन् भने तीन हजार ५४७ जना घाइते भएका छन् । सेनाले पूर्व शासक कद्दाफीका समर्थक लगायतका समूहको नेतृत्व रहेको पूर्वी क्षेत्रमा रहेको सरकारलाई सहयोग गर्दै आएको छ ।

Advertisement