fbpx

युवालाई ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले छोएन, जेठमा नै उडे ४३ हजार विदेश !



अशोक घिमिरे / रासस
 




काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् ।

स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए ।

वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन् । गत महीना १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागतरुपमा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३८३ पुरुष र ८५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी ६१५ पुरुष र २५४ महिला गरी ८६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ ।

गत महीना एक हजार ४७२ पुरुष र १२३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा ४६ हजार ७१७ पुरुष र दुई हजार ५८२ महिला गरी कूल ४९ हजार २९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष, सीपयुक्त बनाएर पठाउने नीति लिएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको ठूलो सङ्ख्या रहेको छ । जेठमा २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएका विभागले जनाएको छ ।

सोही अवधिमा १३ हजार ८०५ पुरुष र ७९८ महिला गरी १४ हजार ६०३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६७८ पुरुष र २८५ महिलासहित तीन हजार ९६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त छ पुरुष श्रम स्वीकृति लिई विदेश गएका विभागले जनाएको छ ।

पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । विभागले यही असार १५ गतेदेखि विभिन्न १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने सरकारको तयारी छ ।

व्यक्तिगत ठगीका उजुरीमा वृद्धि

गत जेठमा व्यक्तिगत ठगीका ६४ उजुरी विभागमा दर्ता भएका छन् । वैशाखसम्म विभागमा व्यक्तिगत ठगीका कूल ६५७ उजुरी परेका थिए ।

व्यक्तिगत ठगीतर्फ रु सात करोड ६१ लाख १३ हजार ७५० दाबी गरिएको छ । जेठमा व्यक्तिगत ठगीको ३३ वटा उजुरीका विरुद्ध अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए ।

त्यसैगरी विभागमा गत महीनामा १०० वटा संस्थागत उजुरी परेका छन् । संस्थागत उजुरीबापत रु दुई करोड १९ लाख ४१ हजार ८५ दाबी गरिएको छ ।


सम्बन्धित समाचार