कम्प्युटर प्रणालीलाई निशाना बनाएर इरानी अस्त्र प्रणालीमा साइबर हमला !
इन्द्र रिजाल
असार ८, २०७६ सोमबार ०:४२:४९
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा ‘साइबर हमला’ गरेको आरोप लागेको छ ।
अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको बिबिसीमा उल्लेख गरिएको हो । अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई आक्रमण गर्ने इरानी कदमविरुद्ध साइबर आक्रमण गरिएको न्यूयोर्क टाइम्स पत्रिकाले पनि उल्लेख गरेकाे छ ।
आक्रमण किन?
इरानविरुद्ध अमेरिकाले पनि प्रतिबन्धहरू लगाएको र ती “महत्त्वपूर्ण“ परमाणु अस्त्र बनाउनबाट रोक्न ती कदमहरू चालिएको राष्ट्रपति ट्रम्पले बताएका छन् । इरान र पश्चिमा शक्तिहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका पछि हटेपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।
अमेरिकाले इरानविरुद्ध प्रतिबन्धहरू लगाइदिएपछि इरानले आर्थिक कठिनाइ खेप्नुपरेको छ। गत साता इरानले आफ्नो परमाणु अस्त्र कार्यक्रम अघि बढिरहने बताएको थियो। ट्रम्पले चाहिँ आफू इरानसँग युद्ध नचाहने तर कुनै द्वन्द्व भएमा इरानलाई “सखाप पारिने“ चेतावनी दिइसकेका छन्।
साइबर आक्रमणले के गरे ?
समाचार सूत्रहरूले अमेरिकी सञ्चारमध्यमलाई बताएअनुसार साइबर आक्रमण गर्ने योजना केही साताअघि नै बनाइएको थियो । ओमानको खाडीमा तेल बोक्ने ट्याङ्कहरूलाई निशाना बनाउँदै आक्रमणहरू भएपछि त्यसो गर्ने सुझाव दिइएको बुझिएको छ। ती आक्रमणले अमेरिकी ड्रोन र खाडीमा ट्याङ्करहरूलाई आक्रमण गर्ने इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले प्रयोग गर्ने अस्त्र प्रणालीलाई निशाना बनाएका थिए ।
वाशिङ्टन पोस्ट र एपी समाचार संस्थाले बताएअनुसार साइबर आक्रमणले इरानी कम्प्युटर प्रणालीलाई काम नलाग्ने तुल्याइदिएको छ। न्यूयोर्क टाइम्सका अनुसार ती आक्रमणले कम्प्युटर प्रणालीलाई निश्चित अवधिको लागि अफलाइन अर्थात् सम्पकविहिन तुल्याइदिएको थियो।
तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार
शनिवार अमेरिकी गृह मन्त्रालयले इरानले अमेरिकी कम्प्युटर प्रणालीमा साइबर आक्रमण गर्ने प्रयास गरिरहेको बताएको थियो। वाशिङ्टन पोस्ट पत्रिकाका अनुसार इरानले अमेरिकी जलसेनाका जहाजका कम्प्युटर प्रणालीमा ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो।
घटनाबारे ट्रम्पको धारणा यस्तो छ
ट्रम्पले साइबर हमलाका विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन्। शुक्रवार उनले इरानमा १५० जनाको ज्यान जाने जोखिम रहेकोले आफूले गर्न लागेको परम्परागत सैन्य आक्रमणको योजनालाई त्यागेको बताएका थिए। शनिवार उनले फेरि आफू इरानसँग वार्ता गर्नको लागि तयार रहेको बताए।
उनले भने, “यदि इरान समृद्ध देश बन्न चाहन्छ भने मलाई उचित लाग्ने छ। तर पाँच-छ वर्षमा परमाणु अस्त्र बनाएर आफू समृद्ध हुन्छु भनेर इरानले नसोचे पनि हुन्छ।“ आफ्नो पुरानो चुनावी नाराकै शैलीमा उनले भने, “इरानलाई फेरि ठूलो बनाऔँ।“
अमेरिकी प्रतिबन्धले इरानमा प्रभाव
गत वर्ष अमेरिकाले इरानको ऊर्जा, जलयातायात र वित्तीय क्षेत्रमा प्रतिबन्धहरू लगाइदिएपछि त्यहाँ वैदेशिक लगानी ठप्प हुन पुगेको छ। इरानको तेल निर्यात पनि त्यसबाट प्रभावित हुन पुगेको छ।
ती प्रतिबन्धका कारण कुनै पनि अमेरिकी कम्पनीले इरानसँग व्यापार गर्न पाउँदैनन्। उनीहरूले इरानसँग कारोबार गर्ने विदेशी कम्पनीहरूसँग पनि व्यापार गर्न पाउँदैनन्।
त्यसले गर्दा इरानमा विदेशी सामानको प्रयोग गरी बनाइने सामानको चरम अभाव भइरहेको छ। त्यसमा बच्चाहरूले प्रयोग गर्ने न्यापी पनि पर्छ। प्रतिबन्धका कारण इरानी मुद्रा रियालको अवमूल्यन भइरहेको छ र स्थानीय बजारमा मूल्यवृद्धि भइरहेको छ।
अमेरिकी ड्रोनलाई के भयो?
इरानी रेभोल्युशनरी गार्ड्सले ड्रोनलाई खसालेर इरानी सीमा काटेर अमेरिकीहरू भित्र आउन नमिल्ने कुराको स्पष्ट सन्देश दिएको बताएको छ। तर अमेरिकी सैनिक अधिकारीहरू भन्छन्, आक्रमणको बेला अमेरिकी ड्रोन स्ट्रेट अफ होर्मुजको अन्तर्रा्ष्ट्रिय हवाई क्षेत्रमै रहेको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार