higher-education
Advertisement

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीबाट सरकारले अतिरिक्त दुई प्रतिशत शुल्क लिन लागेकाे छ । विदेश पढ्न जानेको खर्च ४५ अर्बभन्दा धेरै भएकाे भन्दै पढ्नका लागि विदेशीनेकाे संख्यामा कटाैती गर्न यस्ताे व्यवस्ता गर्न लागिएकाे बताए ।

अर्थमन्त्री डा. खतिवडाले माध्यमिक शिक्षालाई निःशुल्क नै गर्ने सरकारको लक्ष्य रहेको अवस्थामा उच्च शिक्षा लिन विदेश जानै पर्ने भन्ने मान्यतालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताएका छन् । देशभित्रै अन्तर्राष्ट्रियस्तरका अध्ययन हुने र त्यस्ता विषय पढाउने विश्वविद्यालय र क्याम्पस रहेकाले विदेश जार्नैपर्ने अवस्था क्रमशः अन्त्य हुने उनको भनाइ छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मात्रै वार्षिक रु ४५ अर्ब खर्च गरिरहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्रीले भुक्तानी सन्तुलनमा नै प्रभाव पार्ने गरी विदेशी मुद्रा विदेसिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने बताए ।

Advertisement

निर्यात अनुदान दिएर आर्जन गरेको विदेशी मुद्रा विदेसिन नदिन केही न केही गर्नैपर्ने अवस्था आएको भन्दै उनले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले कर तिरेको प्रमाणको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सांसद जितेन्द्रनारायण देवको विदेशमा पढ्न जाने विद्यार्थीलाई दुई प्रतिशत शुल्क किन लिन खोजिएको भन्ने प्रश्नमा अर्थमन्त्रीले उक्त जवाफ दिएका हुन् ।

राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको हो ।

यी तीन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । राष्ट्रियसभाले सोमबार विनियोजन विधेयक, २०७६ पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने
प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिए ।

त्यसअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली काँग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गरेका थिए । छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो । प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेटमा निधनलगायत विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो घटनाका बारेमा सदनलाई जानकारी दिए । गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण बैठक स्थगन भएको थियो ।

Advertisement