२७ भदौ, रसुवा । चीनको भूभागमा अवस्थित मानसरोवर कैलाश यात्राका लागि हुम्लाबाट जान हिल्सासम्म हवाईमार्ग प्रयोग गर्नुपर्ने बाध्यता र रसुवागढी नाका प्रयोग गर्दा पूरै स्थलगतरूपमा जान सकिने सहजताकाबीच पनि धार्मीक तिर्थालुहरुलाई वर्षात र पहिरो चुनौतीका रुपमा खडा हुने गरेको छ ।
हुम्लाबाट जान हवाई मार्गको विकल्प नहुँदा विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ । रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडंैँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् ।
मानसरोवर यात्राका लागि बुधबार ५५ धार्मीक तिर्थालुहरु एवं गैरआवासीय नेपाली बोकी काठमाडैंबाट रसुवागढीका लागि हिँडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा बिहीबार स्याफ्रुबेंशी लगिएको काठमाडौं होलिडे टूर्स एण्ड ट्राभल ठमेलका पथ प्रदर्शक कुन्दन क्षेत्रीले बताए ।
बुधबार अपराह्नको अविरल वर्षाका कारण कालिका गाउँपालिका–१ राम्चे, ग्राङबीच भीरको नजिक पहिरोले राजमार्ग क्षति बनाएपछि चिनियाँ भूभागमा अवस्थित मानसरोवर कैलाश हिँडेका ती गैरआवासीय नेपाली यात्रुलाई नुवाकोटको बटारमा फर्काई हवाईमार्ग प्रयोग गरिएको बताइएको छ ।
राजमार्ग अवरूद्ध भई अलपत्र परेका यात्रुलाई कार्यतालिका अनुरूप गन्तव्यतर्फ पठाउन ट्राभल एजेन्सीको समन्वयमा सिम्रिक एयर कम्पनीका हेलिकप्टरबाट गन्तव्यतर्फ लगिएको थियो । भौगोलिक विकटता र समस्याको यस्तो परिस्थितीमा तिर्थालुहरुको खर्चमा ट्राभल एजेन्सी तथा हवाई कम्पनीहरुलाई राम्रो आम्दानी हुने गरेको छ । गैरआवासीय नेपाली तीर्थयात्रुलाई नुवाकोटबाट स्याफ्रुबेंशी पु¥याउन सिम्रिक एयरले दुई वटा हेलिकप्टर प्रयोग गरेको र वरिष्ठ पाइलट सुरेन्द्र पौडेल र युवा पाइलट हरेराम थापाले उडान गरेको प्राप्त समाचारमा जनाइएको छ ।
हेलिकप्टरबाट लगिएका ती गैरआवासीय नेपाली यात्रु बिहीबार नै रसुवागढी नाकाबाट चिनियाँ भूभागमा प्रवेश गरिसकेको र उनीहरू ११ दिनको अन्तरालमा मानसरोवर कैलाशको यात्रा पूरा गरी काठमाडौं पुग्ने पथ प्रदर्शक क्षेत्रीले बताएका छन् ।
सरासर लाँदा कैलाश पर्वत क्षेत्रमा लेक लाग्न सक्ने समस्या न्यूनीकरण गर्न सबै यात्रुलाई ठाउँठाउँमा बास बसाली आरामदायी यात्रा गराइने जनाइएको छ । यात्राका क्रममा स्याफ्रुबेँशी, टिमुरे र चिनियाँ भूभागको केरूङ एवं साझा भन्ने स्थानमा बास बसालेपछि चार हजार ८०० मिटर उचाइको मानसरोवर पु¥याउने गरेको पथ प्रदर्र्शकले बताएका छन् ।
अध्यागमन प्रमुख विष्णु घर्तीका अनुसार विसं २०७६ वैशाखदेखि हालसम्म १४ हजार ५०० तीर्थयात्रुले मानसरोवर कैलाश यात्रा सम्पन्न गरिसकेका छन् । अब उच्च भागमा हिमपातको मौसम शुरू हुने बेला भएकाले मानसरोवर जाने मौसम अन्तिम हुन थालेको बताइएको छ । मानसरोवर कैलाश यात्राका लागि बढी मात्रामा भारतीय तीर्थयात्रु जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।