२७ भदौ, काठमाडौं । आज साँझ तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीकाे गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।
घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।
गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो । उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो । महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरमान श्रेष्ठ समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए ।