१७ माघ २०७९, मंगलवार
समाचार

कांग्रेस नेतृ सोनियाले बोलाएको बैठकमा नेता राहुल नै अनुपस्थित

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार २३:५६


सरकारले जारी राखेको लकडाउन असफल भएको कांग्रेस नेता गान्धीको टिप्पणी

२७ भदौ, नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन् । बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनी उपस्थित नभएको नेताहरूले जानकारी दिएका छन् ।

सन् २०१७ मा पार्टी अध्यक्ष बनेका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए । उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा फिर्ता लिन पटक–पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनी अनुपस्थित भएका हुन् । नेता गान्धी अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभएपनि केन्द्रीय सदस्य र सांसद भने हुन् । गान्धी हालै भएको आम निर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भउका हुन् ।

राहुल निकट श्रोतले एएनआईलाई दिएको जानकारी अनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेबारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन् ।
यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागीता जनाएका थिए ।

राहुलले राजिनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकी छिन् । झण्डै १२ बर्षपछि कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने गरेका छन् ।

यसैबीच हिजोमात्र भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी थिइन् । पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् ।

पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा मन परेर आबद्ध हुनेहरूभन्दा स्वार्थका लागि आबद्ध हुनेहरू पार्टीका लागि चुनौति भएको उनको भनाई थियो । “हाम्रो पार्टीको मुल्य मान्यताहरू संकटमा परेका छन्, यसबाट हामी चाँडै सतर्क हुन सकेनौँ भने पार्टी अफ्ट्यारोमा पर्दछ,” उनले भनीन् ।

मुल्य मान्यतामा अडिग रहने र स्वार्थी चिन्ने अहिले राम्रो मौका भएको गान्धीले बताएकी छिन् । मुल्य मान्यतासहित आएकाहरुले मात्रै देशलाई फाइदा हुने उनको भनाई छ । “केही नेता कार्यकर्ताहरुले हालै हाम्रो पार्टी छाडेको घोषणा गरेका छन्, त्यसले उनीहरु अवसरवादी थिए भन्ने पुष्टी हुन्छ,” गान्धीले भनेकी छिन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा