१३ माघ २०७९, शुक्रबार

ओलम्पिक कमिटीको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार १४:१३


जीवनराम श्रेष्ठ

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित भएका छन । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए ।

अन्तराष्र्टिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज बिहान निर्वाचन भएको थियो । अन्य पदाधिकारीको मतगणना जारी छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट नेकपा प्रतिनिधिसभा सदस्यमा समेत उनी निर्वाचित छन् ।

यसैगरी महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाएका छन् ।

यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिलकुमार श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए । उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन् ।

यसैगरी ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी केशवकुमार विष्ट भने पराजित भए । राखेपका पूर्वसदस्यसचिव समेत रहेका विष्टले १७ मत पाए ।

नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटीले २६०, प्रकाशशम्सेर राणाले २६, गोपालसुन्दर लाल कक्षपतिले २६, दीर्घबहादुर केसीले २६, होमबहादुर दोङले २५, टासी घलेले २४ र राम अवालेले २० मत पाएर निर्वाचित हुँदा सदस्यका उमेद्दार मनोरञ्जनरमण शर्मा भने ९ मत ल्याएर पराजित भएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा