१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

शान्ति सेनाको भत्ता बढ्यो

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार १३:३६


राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा

३१ भदौ,काठमाडौं । नेपाली सेनाले शान्ति स्थापनार्थ विदेशमा खटिएका सिपाहीको खाइपाई आएको पारिश्रमिक बढाएको छ । सेनाद्वारा आज जारी विज्ञप्ति अनुसार, अब सिपाहीले प्रति महिना थप ८५ अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा आज बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले बन्दोवस्तीको काममा खटिने सिपाहीले हाल खाइपाई आएको प्रति महिना एक हजार २९ अमेरिकी डलरमा ८५ अमेरिकी डलर थप गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब शान्ति सेनामा खटिएका सिपाहीले प्रति महिना एक हजार एक सय १४ अमेरिकी डलर पारिश्रमिक पाउने छन् । यस्तै शान्ति सेनाको लागि खटिने गणका गणपतिको पारिश्रमिकमा पनि केही थप गर्ने निर्णय गरेको छ । गणपतिले अब थप २१ अमेरिकी डलर प्राप्त गर्ने छन् ।

यसअघि गणपतिले एक हजार ३७८ अमेरिकी डलर प्रति महिना पाउने गरेकोमा अब २१ डलर थपसहित एक हजार ३९९ अमेरिकी डलर प्राप्त गर्ने छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार, बृद्धि भएको पारिश्रमिक आगामी अक्टोबर १ बाट लागू हुने छ । अन्य मुलुकका शान्ति सेनाको अवस्था समेतको अध्ययन गरी नेपाली सेनाले समेत भत्तामा बृद्धि गरेको जनाइएको छ ।

उक्त बृद्धिबाट कल्याण कोषमाथि वार्षिक करिब ४६ करोड ३० लाख रुपियाँको व्यय भार पर्ने छ । अहिले विश्वमा ११ वटा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेना शान्ति स्थापनार्थ खटिएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा