३१ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई हिजो सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका-७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन् ।
उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपैयाँसहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
यसैगरि प्रहरीले काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका-७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज मंगलबार बिहान पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख. ९४७९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने झापा काँकडभिंट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागूऔषध ब्राउनसुगर करिब २८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।