२ असोज,काठमाडौं । विभिन्न ठाउँको सुरक्षा कमाण्डमा खटाइएका बेला नेपाल प्रहरीका डिएसपी ऋषी कंडेल जहाँ गयो त्यही आर्थिक विवादमा परेपछि उनका व्याचका सबै प्रमोशन हुँदा समेत उनी डिएसपीमै बस्नु परेको छ । बिगतमा लीलामणि पौडेल मुख्यसचिव भएका बेला जिल्लाबासी भएकै नाताले उनी डीएसपी वढुवामा अगाडि परेका थिए ।
समाचार स्रोतका अनुसार बझाङमा हुदाँ यौनकाण्डमा २ लाख असुलेकोदेखि नुवाकोटको बालुवाकाण्ड हुँदै अनेक विषयमा विवादित कंडेललाई मुख्यालयले हेडक्वाटर तानेको थियो । यसरी जहाँ गयो त्यही आर्थिक मामिलामा विवादमा आइरहने कंडेलले पछिल्लो पटक नेपाल प्रहरीको कर्मचारी प्रशासनमा आँखा लगाएको बुझिएको छ ।
प्राप्त समाचार अनुसार जवानदेखि अधिकृतसम्म सरुवा गर्दा आर्थिक लेनदेन र सरुवाको सूचना सम्बन्धित व्यक्तिलाई चुहाए वापत रकम प्राप्त हुने भनिने कर्मचारी प्रशासनमा पुग्नका लागि डिएसपी ऋषी कंडेलले शक्ति केन्द्रको ढोका चाहार्न थालेको स्रोतको भनाई छ । कप्रमा हाल एसपी चन्द्रकुवेर खापुङ प्रमुख छन् ।
नेपाल प्रहरीको सेवा प्रारम्भदेखि कसैको दबाब र रबाफ मन नपराउने वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालले कंडेलको व्यवहार राम्रैसँग बुझेको बताईन्छ । सोही कारण कर्मचारी प्रशासनमा जान नसक्ने कुरालाई राम्रैसँग बुझेका कंडेलले आफ्नै जिल्ला र क्षेत्रका मन्त्री प्रदीप ज्ञवालीमार्फत आईजीपीलाई दबाब दिईरहेको स्रोतको दावी छ ।
सबै तह र तप्कामा शुन्य सहनशिलता खोजेका महानिरीक्षक खनाललाई दबाब दिलाए पनि खनाल भने उनलाई त्यस ठाउँमा लगेर संगठनलाई बदनाम गराउने पक्षमा नभएको स्रोतले बतायो । यद्दपी कतिपय कुरामा दबाबलाई अत्यन्तै कठिनाइका साथ स्वीकार गर्दै आएका महानिरीक्षक खनालले यो दबाबलाई कसरी लिने हुने भन्ने विषयले अहिले प्रहरीमाझ चर्चा चल्न थलोको छ ।
महानिरीक्षक खनालले डिएसपी कंडेललाई त्यहाँ ल्याउने दबाबलाई स्वीकार गरे भने कंडेलको रबाफले ५ महिनापछि सेवा निवृत्त हुने महानिरीक्षकलाई रौं बाराबर नटेर्ने कुरा प्राय निश्चित छ ।