४ असोज, काठमाडौं । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ४० औँ विश्व पर्यटन दिवसका अवसरमा फुटसल प्रतियोगिता गरेको छ ।
नाट्टाले हरेक वर्ष झैँ यसवर्ष पनि विश्व पर्यटन दिवसका अवसर पारेर धनन्तरी फुटसल क्लब भत्केपुलमा आज उक्त प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा पुरुष १० टोली र महिला तीन टोलीको सहभागिता रहेको छ । फुटसलमा एयरलाइन्स, ट्राभल्स एण्ड टुर्स, जिडिएसलगायतको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी वर्षदेखि नाट्टा फुटसललाई एन्फाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेले पर्यटन दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घसंस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताए ।
नाट्टाले विश्व पर्यटन दिवसका अवसरमा फुटसल प्रतियोगिता, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रम आयोजना गर्न लागेको नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए ।