५ असोज काठमाडौं । सुनको भाउ आइतबार फेरि बढेको छ । पछिल्लो समय सुनको मूल्यमा तिब्र उतारचढाव हुँदै आएको छ ।
शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएर तोलाको ८६५ रुपैयाँ पुगेको छ । अहिले चाडवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले पर्वमा समेत सुनको माग घट्न सक्ने व्यवसायीहरुले आँकलन गरिरहेका छन् । नेपाली बजारमा भाउ बढेपछि कारोबार भने सुस्त भएको छ ।
यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । आन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स न्यूनतम १ हजार ४९८.११ डलरदेखि १ हजार ५१७.२३ डलर सम्म कारोबार भइरहेको छ ।