५ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापन कार्यमा हिजोकाे तुलनामा धेरै सुधार भएको बताएका छन् ।
युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि अहिले पहिलेको तुलनामा धेरै सुधार भएका बताएका हुन् ।
उनले सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको दर्दनाक अवस्था देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा जवान उत्साहित भएको सोही कार्यक्रममा बताएका हुन् । उनले आफू प्रहरी निरीक्षक र डीआईजी हुँदा ट्राफिक महाशाखामा काम गरेको स्मरण गर्दै धेरै परिवर्तन भएको सुनाएका हुन् ।
ट्राफिक व्यवस्थापनमा सुधार हुनु भनेको सम्पूर्ण संघसंस्था जागरुक हुनु पनि सकरात्मक भएको उनले बताए । तर, ट्राफिक व्यवस्थापनमा टड्कारो रुपमा रहेको समस्या भनेको सडकको संरचना र सडकलाई अनुशासित बनाउने पूर्वाधार रहेको खनालको भनाइ छ ।