१७ माघ २०७९, मंगलवार
वाणिज्य बैंक

बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना पक्राउ

प्रकाशित मिति :  ५ आश्विन २०७६, आईतवार १४:२८


बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना पक्राउ

५ असोज,काठमाडौं । नक्कली धितो देखाएर ऋण लगानी गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जनालाई पक्राउ गरेको छ ।

खोलाको जग्गालाई हाईवे छेउको जग्गा भनि झुक्काएर नक्कली धितोमा ऋण लगानी गर्ने उक्त समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले कीर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ । ऋणी सुरेन्द्र श्रेष्ठ र भुपेन्द्र श्रेष्ठले भ्यालुयटर तथा बैंकका झापा शाखा र केन्द्रिको ऋण विभागका कर्मचारीहरुसँगको मिलेमतोमा नक्कली जग्गा देखाएर पाँच करोडको ऋण प्रवाह गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

पक्राउ पर्नेमा तत्कालीन सीईओ श्रेष्ठका साथै ऋणी सुरेन्द्र श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ तथा बैंकका कर्मचारीहरु सुष्मा शाह, विक्रम पन्त , किरण बोहरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेका छन् । पक्राउ पर्ने सीईओ श्रेष्ठसहित बोहोरा,भण्डारी र ऋचा बैंकका उच्च तहका कर्मचारी हुन् ।

ऋण लगानी गर्दा सम्बन्धित शाखा कार्यालय र भ्यालुयटरको सबैभन्दा बढी जिम्मेवारी हुने गर्छ । तल्लो तहबाट ऋण फाइल सदर हुँदै माथिल्लो तहमा ऋण स्वीकृतिका लागि पुग्ने भएतापनि भद्र सीईओ श्रेष्ठको संलग्नता ऋण स्वीकृत गर्नु मात्र हो कि अरु केही रहस्य पनि छ भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्यूरोका प्रवक्ता बेलप्रसाद पाण्डेका अनुसार, यो प्रकरणका बिचौलिया र भ्यालुएटर भने हालसम्म फरार छन् । झापाको बिरिङ खोला बगरलाई धितो बनाई पाँच करोड रुपियाँ ऋण दिईएको थियो ।

साथै,अन्य जग्गाको मूल्याङ्कन पनि अधिक गरी ऋण प्रवाह गरेको देखिएकाले कर्मचारीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रवक्ता पाण्डेले बताएका छन् । सुरेन्द्रले ऋण नतिरेपछि धितो लिलाम हुँदा मात्र सो जग्गा खोलाभित्र पर्ने रहस्य खुलेको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा