५ असोज, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडकाे आज साँझ बसेको सञ्चालक समितिको २९१ औं बैठकले गत आ.व २०७५/०७६ को लाभांश तथा बोनस शेयर घोषणा गरेको छ । बैंकले प्राप्त गरेको मुनाफा रकम रु. एक अर्ब ३१ करोड आठ लाख ४७ हजार छ सय तिन रुपैँयाबाट सो बोनस तथा लाभांश घोषणा गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रुपैयाँ आठ अर्ब सात लाख ८५ हजार नौ सय २५ को १२ प्रतिशतले हुन आउने रकम रुपैयाँ छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित १२ प्रतिशत मध्ये छ प्रतिशत बोनश शेयर र छ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकको तयारी छ । तर, नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभांशबाट कट्टा गरिने बैंकले जनाएको छ ।
बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव विश्व सुवेदीले नेपालबहस डटकमलाई जानकारी दिए ।