१३ माघ २०७९, शुक्रबार
कृषि

यसपटक अदुवाको उचित मूल्य पाएपछि कृषक पनि हर्षित

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार १३:५५


यसपटक अदुवाको उचित मूल्य पाएपछि कृषक पनि हर्षित

६ असोज, इलाम । विगतका वर्षभन्दा यसपटक अदुवाको भाउ बढेपछि किसानमा उत्साह थपिएको छ । गत वर्षभन्दा चारगुणा बढी भाउ आएपछि किसानले यो वर्ष अदुवाबाट राम्रै मूल्य हात पर्ने भएपछि किसानमा उत्साह थपिएको हो ।

भारतीय अवरोध, सङ्क्रमण र मौसमी समस्याले विगतका वर्षमा लगायत अनुसारको मूल्य नपाएका किसानले यसपटक भने उचित मूल्य पाउने भएका छन् ।

अदुवाको बिक्रीबाट प्राप्त हुने रकमले नै दशैँ मनाउने सुरसारमा किसान रहेका छन् । “दशैँअघि नै अदुवा थन्क्याउने सुरसारमा छौँ । यो पटक भाउ राम्रो आएकाले आम्दानी राम्रै हुने आशमा छु”, इलाम नगरपालिकास्थित ओख्रेका किसान चन्द्र घिमिरेले भने । गत वर्ष १० मन ‘एक मनको ४० किलो’ अदुवा रोपेका घिमिरेले यसपटक पाँच मन मात्र रोपेका थिए । अदुवाको भाउ आएको थाहा पाएपछि भने कम रोपेकामा पछुतोसमेत भएको घिमिरेको भनाइ छ ।

भारतीय समस्या र सङ्क्रमण नभएकाले यसपटक अदुवाको मूल्य उच्च भएको व्यवसायीको भनाइ छ । भारतीय नाकामा महीनौँ थन्क्याउनुपर्ने समस्याले गर्दासमेत अदुवा किन्न डराउनुपर्ने स्थिति विगतका वर्षमा थियो । तर यो वर्ष भने भारतीय बजारमा पनि अदुवाको माग उच्च रहेको व्यवसायी कृष्ण पौडेलको भनाइ छ ।

“भारतीय अवरोध र रोगका कारण विगतका वर्षमा भारतीय बजारमा नेपाली अदुवाको माग थिएन”, पौडेलले भने, “यसपटक भने किसानले राम्रै मूल्य पाउने भएका छन् । यो भाउ गत वर्षकोभन्दा तीनगुणा बढी हुन्छ ।” तर अदुवाको उत्पादन भने गत वर्षभन्दा आधा कम भएको उनको भनाइ छ ।

अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नं १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । इलाममा तीन हजार २३३ हेक्टरमा अदुवाखेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको छ ।

नेपालका २६ जिल्लामा अदुवाखेती हुँदै आएको छ । चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारतमा निकासी हुन्छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा